सिरहामा नेकपालाई ठुलो झटका : निर्वाचित वडाध्यक्षसहित झण्डै दुई सयबढी नेता कार्यकर्ता राजपामा प्रवेश ।

 सिरहा     २९ कार्तिक २०७६, शुक्रबार २१:००     1035 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।

कार्तिक २९ गते, सिरहा । सिरहामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाध्यक्षसहित झण्डै दुई सयबढी नेता कार्यकर्ता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका वडा ४ मा तत्कालिन माओवादीबाट निर्वाचित वडाध्यक्ष टेकबहादुर लामा र चारजना वडासदस्यसहित दुई सयबढी नेता कार्यकर्ता पार्टी परित्याग गरी राजपामा प्रवेश गरेका हुन् । उनीहरुसँगै नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यासीसहित कांग्रेसका कार्यकर्ता र वडा ५ का नेकपाका कार्यकर्ताहरु पनि राजपा पसेका छन् ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य तथा संघीय सांसद राजकिशोर यादवले कर्जन्हा नगरपालिकामा शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच सामुहिक रुपमा उनीहरुलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले अब पुरानो ढर्राको राजनीतिले देशको समृद्धि सम्भव नरहेको भन्दै नयाँ सोच र भिजनसहित अघि बढेको राजपा मात्र विकल्प भएको बताए ।

कम्यनिष्ट पार्टीबाट राजनीति सुरु गरेर जीवन बिताएका व्यक्ति राजपालाई बुझेर आएकोमा वडाध्यक्ष लामासहित नवप्रवेशीलाई नेता यादवले धन्यवाद ज्ञापन गरे । उनले आजको दिनलाई ‘ऐतिहासिक’ दिनको रुपमा संज्ञा दिए । नेता यादवले जनता अब जागरुक हुन लागेको बताउँदै कुनै विशेष समुदाय र क्षेत्रको नाममा राजनीति गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्ने पार्टी र नेताको गुञ्जायस नरहेको बताए ।

राजपा कुनै विशेष समुदाय र क्षेत्रको नभएर राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने पार्टी भएको उनले प्रष्ट पारे । दलदलमा फसेको मुलुकलाई नयाँ दिशा प्रदान गर्न वैकल्पिक पार्टी रोज्नुपर्ने र यो जिम्मा जनताको काँधमा भएको उनले बताए । राजपा बाहेक कुनै पार्टीले मुलुकलाई गति दिन नसक्नेसमेत उनले जिकिर गरे । उनले भने, ‘कांग्रेसले प्रजातन्त्रको नाममा जनतालाई ठग्ने काम मात्र गरे, कम्युनिष्ट पार्टी ‘कमाउनिष्ट’ भए, निर्वाचनमा जनतालाई झुटा आश्वासन दियो, आज त्यस अनुसार काम गर्न सकिरहेको छैन । उल्टै जनतामाथि ज्यादति र आतंक सिर्जना गर्ने काम सरकारबाटै भइरहेको छ ।’

दुई तिहाईको सरकारले शान्ति सुरक्षा र अमनचयन स्थापना गर्न नसकेको उनले बताए । मुलुकले अब परिवर्तनको लागि विकल्प खोजेको र वैकल्पिक शक्तिको रुपमा राजपाको जन्म भएको नेता यादवले जनाए । उनले भने, ‘अब डेट एक्सपायर र ठग पार्टी अथवा नेताको काम छैन, देश र जनताले परिवर्तन खोजेको छ ।’ सिरहा निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधिसभा सांसद रहेका नेता यादवले आवश्यक चिज खुलेर आफूसँग माग्न मासलाई अनुरोध गरे ।

राजपा प्रवेश गरेका वडाध्यक्ष लामाले जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी सरकारमा भएपनि जनताका पक्षमा काम गर्न नसकेको दावी गरे । उनले राजपा नेपालले सबै समुदायलाई जोड्न चाहेको र देशलाई सबैको साझासहित समृद्ध बनाउने संकल्प लिएर अघि बढेकोले राजपालाई रोजेको प्रतिक्रिया दिए ।

वडाध्यक्ष लामा कम्युनिष्ट आन्दोलनका धरोहर मानिन्छन् । कम्युनिष्टको गढ मानिने कर्जन्हा क्षेत्रमा चलेको राजपा प्रवेशको लहरले यस क्षेत्रको राजनीतिक वृतमा हलचल मचाएको छ ।



domain register price