सिरहाका ११ जनामा कोरोनाको आशंका,थप परीक्षणका लागि जनकपुर पठायो ।

 सिरहा     ३ चैत्र २०७६, सोमबार २३:५१     410 जनाले पढ़िसके


सिरहा , ३ चैत ।  सिरहा नगरपालिका १० मा नोवेल करोना भाईरस (कोभिड–१९) को संक्रमित भएको हल्ला एका विहानै फैलियो ।

रोजगारीमा भारत गएर फर्केकाहरु कोरोना संक्रमित भएको हल्ला सिरहा नगरपालिका १० नरैहियाँ देखि जिल्ला भरी फैलियो । प्रहरी सँगै स्थानीय स्वास्थ्य ईकाइमा खबर पुग्यो । ईलाका प्रहरी कार्यालय विष्णपुरका इन्चार्ज सुरेश खेरवार प्रहरी टोली सहित नरैहियाँ पुग्यो । भारतको राजस्थानमा रोजगारी गरेर आईतवार राती घर फर्केकाहरुको घर पुग्यो ।

त्यहाँ समान्य ज्वरो आएका ५० वर्षिय देवन मुखियासँगै ११ जनालाई प्रहरीले एम्बुलेन्समा राखेर जनकपुर पठायो । मुखिया पनि भारतको राजस्थानवाट फर्केका थिए । पहिलेदेखि दम(खोकी) को रोगी रहेका मुखियासँगै ११ जनालाई आईसोलेनसनमा राख्ने गरी धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्यायो ।

ईलाका प्रहरी कार्यालय विष्णपुर र स्थानीय स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्समा राखेर उनीहरुलाई आईसोलेसनको लागि जनकपुर पठाएको उक्त वडाअध्यक्ष जुगलकिशोर कामतीले बताए ।

उनले भने,‘सवैजनालाई प्रहरी र स्वास्थ्यकर्मीले एउटा एम्बुलेन्समा राखेर जनकपुर पठायो ।’ जनकपुर परीक्षणका निम्ति पठाईएका उनीहरुमा कुनै लक्षण नदेखिएको जनस्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । सिरहाका सुरक्षा प्रमुख सहित आफूहरु जनकपुरमा रहेको बेला खबर आएको उनले बताए ।

‘स्थानीय स्तरमा कुनै स्क्रिनिङ नगरि जनकपुर पठायो, जनस्वास्थ्य प्रमुख यादवले भने,‘कम्तीमा स्थानीय स्तरमा स्क्रिनिङ हुनुपर्नेथ्यो । कसरी पठायो त्यसवारे बुझ्दैछु ।’ जनस्वास्थ्य प्रमुख यादवले करोनाका कुनै लक्षण नदेखिएकोले उनीहरुलाई घर फर्काउने तयारी भएको नयाँ पत्रिकालाई बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले समान्य चेकजाँच नै नगरी आईसोलोसनमा पठाउदा समस्या आईपर्ने बताए ।

उनले भने,‘भारतबाट आउने जोकोहीलाई करोनाको आशंकामा आईसोलेनमा पठाउन थाल्यो भने कहाँ राख्ने ? यसरी हल्ला र भ्रम फैलाउनु हुँदैन् ।’ गम्भीर विषय भएकोले सवैले यसमा ध्यान दिनु जरुरी भएको भन्दै प्रजिअ अधिकारीले हल्ला नफैलाउन र सजग रह्नु पर्ने बताए ।