सिरहा ः विद्युत चोरी गर्ने १ सय ८८ व्यक्तिमाथि कारवाही “४६ लाख भन्दा बढि राजश्व संकलन ।

 सिरहा     २२ श्रावण २०७६, बुधबार १७:४७     7 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।
सितल झा, २२ साउन, सिरहा ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाले विद्युत चोरी गर्ने लगभग २ सय व्यक्तिलाई कारवाही गरेको छ । केन्द्रले जिल्लाको ग्रामिण एवं शहरी क्षेत्रका विभिन्न स्थानबाट १ सय ८८ जनालाई जरिवाना गरि कारवाही गरेको केन्द्रका प्रमुख अबधेश कुमार दुबेले जानकारी दिएका छन । जरिवाना तिरेपछि विद्युतको टोलीद्वारा जफत गरिएको विद्युतीय उपकरणहरु सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने गरिएको छ ।

 

प्रमुख दुबेले आर्थिक वर्ष २०७५÷०७६ मा विद्युत चोरी नियन्त्रणको जरिवाना वापत ४६ लाख ३३ हजार २ सय ३० रुपैया ६६ पैशा राजश्व समेत केन्द्रले संकलन गरेको समेत बताए । विद्युत चोरी गर्नेहरुमाथि कारवाही थालिएदेखि विद्युत चुहावट उधोँ लागेको भन्दै प्रमुख दुबेले भने —‘ विद्युत चुहावट नियन्त्रणलाई गंभिरताका साथ लिएका छौं यसलाई हामी अभियानको रुपमा लिई निरन्तर रुपमा फिल्ड भिजिट जारी राखेका छौं , जसको प्रत्यक्ष प्रभाव पछिल्लो वर्षको तुलनामा १० प्रतिशतले विद्युत चुहावट घट्नु हो ।’ आर्थिक वर्ष २०७४÷०७५ मा ३४.३४ प्रतिशतमा रहेको विद्युत चुहावट गत आ.व. ०७५÷०७६मा २४.०८ प्रतिशतमा झरेको प्राधिकरण सिरहाको तथ्यांकमा उल्लेख छ । प्रमुख दुबेले जनाए अनुसार ग्रामिण क्षेत्रमा विद्युत बंशी फँसाएर मोटर ,ठुल ठुला पंखाहरु संचालन गर्ने गरेको पाईएको छ ।

त्यसै गरि प्राधिकरणले विद्युत महशुल बाँकी वक्यौता रहेका ग्राहकहरुलाई समेत कारवाही गरेको जानकारी दिंदै प्रमुख दुबे भन्छन , —‘ एकै पटकमा ३ सय ३४ जना ग्राहकहरुको लाईन कट्टा गरेका थियौं त्यस पछि केही दिन भित्रमै ६८ लाख ५७ हजार ४ सय ३६ रुपैया राजश्व संकलन भएको थियो । यता तीन करोड भन्दा बढि विद्युत महशुल बाँकी वक्यौता रहेको जानकारी प्रमुख दुबेले दिए ।