भन्सार कार्यालय माडरको राजश्व संकलन ह्वातै घट्यो ।

 सिरहा     ९ भाद्र २०७६, सोमबार १७:०४     29 जनाले पढ़िसके


मुस्कान समाचार डेस्क ।

सितल झा , ०९ भदौ , सिरहा ।

सिरहाको माडर स्थित जिल्ला भन्सार कार्यालयको राजश्व संकलन ह्वात्तै घटेको छ । गत असारको अन्तिम सातामा आएको बाढीले सीमावर्ती भारतको विभिन्न सडकहरु भत्केको कारणले चालु आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनामा लक्ष्य भन्दा ३९ प्रतिशतले राजश्व संकलन घटेको तथ्यांक छ ।

गत साउन महिनामा १ करोड ६२ लाख राजश्व असुल गर्ने लक्ष्य कार्यालयले निर्धारण गरेको थियो भने सोको ६१ प्रतिशत अर्थात ९९ लाख मात्रै असुल उपर भएको जिल्ला भन्सार कार्यालय माडरका सूचना अधिकारी सुमित गुप्ताले जनाए । उनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा भने लक्ष्य भन्दा ४४ प्रतिशत बढी राजश्व संकलन भएको थियो ।

१० करोड ७८ लाख २४ हजार लक्ष्य रहेकोमा १४४ प्रतिशत बढि अर्थात १५ करोड भन्दा बढि राजश्व संकलन गरिएको थियो । यसै गरि आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक हेर्ने हो भने १५ करोड ७८ लाख २४ हजार राजश्व संकलन गर्ने लक्ष्य लिईएको थियो तर ११ करोड ७६ लाख ४५ हजार मात्र राजश्व संकलन भएको थियो । जोकी लक्ष्यको ७५ प्रतिशत मात्रै रहेको भन्सारको तथ्यांकले देखाएको छ ।

तथ्यांमा उल्लेख भए अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा सभ भन्दा बढि असार महिनामा २ करोड ९१ लाख २७ हजार २ सय र सबभन्दा कम साउन महिनामा ६१ लाख राजश्व संकलन भएको थियो ।
बाढिको कारण सडकहरु क्षतिग्रस्त बनेपछि यो मार्ग हुँदै आउने ठुला सवारी साधनहरु नआएपछि राजश्व संकलनमा कमि आएको सूचना अधिकारी गुप्ताको भनाई छ । सीमापारी बिहारके जयनगर स्थित कमला नदीको पुल क्षतिग्रस्त हुँदा ठुल—ठुला मालवाहक ट्रकहरु आउनै नसक्दा राजश्व संकलनमा कमि आएको र यो स्वभाविक प्रक्रिया भएको गुप्ता बताउँछन ।

यता गत आर्थिक वर्ष २०७५÷०७६ मा सशस्त्र प्रहरी , जनपथ प्रहरीले पक्राउ गरि भन्सारमा बुझाएको समानहरुबाट ३ करोड ५४ लाख २९ हजार ९८ रुपैया राजश्व संकलन गरेको गुप्ताले जनाए । त्यसै गरि भन्सारमा बुझाईएका केही समानहरु बारे निर्णय हुन सकेको छैन । प्रहरी , सशस्त्र प्रहरी एवं भन्सारकै कर्मचारीहरुको गस्तीमा पक्राउ गरिएका समानहरुको मूल्य ३ करोड ३३ हजार ६ सय ७७ रुपिया रहेको गुप्ताले बताए । त्यस्तै विभिन्न मुद्दामा पक्राउ गरिएका मोटरसाईकल सहितका १ सय ५५ वटा सामग्रीहरु निलाम गरिएको छ र सोबाट कार्यालयले ९६ लाख ६४ हजार ७६ रुपिया राजश्व संकलन गरिएको छ ।